काँग्रेस र नागरिक उन्मुक्तिको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

sudur-pashchim-pradesh
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सुदूरपश्चिम प्रदेशसभा बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वास मत लिन बोलाइएको प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आधा घण्टाको लागि स्थगित गरिएको हो।

बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) रेशम चौधरी पक्षका सांसदहरूले विरोध गरेका थिए। सांसदहरूले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए। प्रदेशमा नागरिक उन्मुक्ति पार्टी विभाजित छ। रन्जिता पक्षका दुई जना सांसद मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारीमा छन् भने रेशम पक्षका पाँच जना सांसद सरकारको विरोधमा उत्रिएका छन्।

नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद इन्दिरा गिरीलाई असंवैधानिक रुपमा गरेको कारबाहीलाई सभामुख सदर गरेको र प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश प्रमुख नजिर मियाले असंवैधानिक काम गरेको भन्दै नाराबाजी गरेका थिए। काँग्रेस र नागरिक उन्मुक्तिका सांसदहरूले बेल घेरेर नाराबाजी गरेपछि सभामुख भीमबहादुर भण्डारीले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

सुदूरपश्चिममा ५३ सांसद छन्। सोडारीले बहुमतको लागि २७ मत पाउनुपर्छ। यहाँ नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका सभामुख बाहेक १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र एक सांसद छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्