ओजुवामा घडियाल गोहीसँगै जोखिमपूर्ण डुङ्गा सवारी

लोकपाटी न्यूज
0 Shares
  • प्रकाश मिश्र

 सुखड। कैलालीको घोडाघोडी नगरपालिका-१ मा अवस्थित ओजुवा तालमा डुङ्गा सञ्चालन जोखिमपूर्ण देखिएको छ। विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालसँगै जोडिएको ओजुवा तालमा घडियाल गोही रहेका छन्। उक्त तालमा गोही रहँदारहँदै डुङ्गा सवारी सञ्चालन गरिएको पाइएको छ।

व्यवसायी डवल शाहले ओजुवा ताल क्षेत्रमा डुङ्गा सञ्चालन गरिरहेका छन्। उनलाई स्थानीय घोडाघोडी सामुदायिक बनले माछा पालन तथा डुङ्गा सञ्चालनका लागि भनेर सामुदायिक बन क्षेत्रभित्र पर्ने उक्त ताल लिजमा दिएको थियो। तर व्यवसायी शाहले तालमा घडियाल गोही रहेको जानकारी हुँदाहुँदै मानव जीवनलाई जोखिममा पारेर डुङ्गा सञ्चालन गरिरहेका छन्।

घोडाघोडी ताल क्षेत्र अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरू जलयात्रा गर्न रुचाउँछन्। तर गोही रहेको तालमै डुङ्गा सवारी गर्दा ज्यान जोखिममा पर्नसक्ने अवस्था रहेकोले यसतर्फ समयमै ध्यान जान जरुरी रहेको घोडाघोडीका युवा अगुवा राजु बमले बताए। जलयात्राको जोखिमलाई नजरअन्दाज गरिए भविष्यमा दुर्घटनाको स्थिति आउन सक्ने उनको भनाई छ।

पर्यटकीय क्षेत्रमा पर्यटकलाई आकर्षित बनाउनु राम्रो पक्ष भएपनि सम्भावित दुर्घटनातर्फ ध्यान नदिई जीवनलाई जोखिममा राखेर गरिने क्रियाकलाप सही नभएको बमको भनाई छ। जीवहरूको वासस्थानमा गएर जिस्काउनु जोखिमपूर्ण कार्य हुने हुँदा समयमै सचेत हुनुपर्नेमा उनको जोड छ।

आवश्यक सतर्कता र पूर्वाधार निर्माणबिना डुङ्गा सवार गरिएको र भविष्यमा कुनै घटना भइहाले त्यसको जबाफदेहिताको प्रश्नमा सरोकारवाला पक्ष गम्भीर बन्नुपर्नेमा स्थानीयको जोड छ। सोही तालमा केही वर्ष अघि गोहीले एक स्थानीय बालकको ज्यान लिएको थियो। डुङ्गा सवारीको क्रममा पनि यस्ता खालका घटना निम्तिन सक्ने जोखिम रहेकोले समयमै सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको घोडाघोडी नगरपालिका-१ का टेकराज आचार्यले बताए। पर्यटकको रुपमा बालबालिकादेखि वृद्ध वृद्धाहरूसम्म आउने भएकोले उनीहरू अझ बढी जोखिममा रहने उनको बुझाइ छ।

गोही भएकै तालमा डुङ्गा सञ्चालन अत्यन्तै खतरनाक हुने भएकोले तत्काल समाधान खोजिनुपर्ने स्थानीय युवा जनक जोशीको धारणा छ। पानीमा रहने जीवसँग खेलबाड गर्नु दुखद हुने जोशीले बताए। यस विषयमा स्थानीय सरकार तथा सरोकारवाला निकाय गम्भीर बन्न उनले आग्रह गरे।

घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले गोही भएकै तालमा डुङ्गा सञ्चालन गर्नु उचित नभएको बताए। गोहीको उचित व्यवस्थापन गरेर तालमा डुङ्गा सञ्चालन गर्नु बुद्धिमानी हुने उनको भनाई छ। नगरप्रमुख रावतले डुङ्गा सञ्चालनको लागि आवश्यक व्यवस्थापनका कार्य अघि बढाउन पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

डुङ्गा सञ्चालनको जिम्मेवारी लिएका व्यवसायी डबल शाहले आफू गोही हटाउने कुरामा सकारात्मक रहेको प्रतिक्रिया दिए। सम्बन्धित निकायसँग सहकार्य गरेर व्यवस्थापन गर्न लागिपरेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्