संसद् अवरोध जारी राख्ने काँग्रेसको निर्णय

prakash_Sharan_mahat
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेस सदनको अवरोधलाई निरन्तरता दिने निष्कर्षमा पुगेको छ। छानबिन समिति गठन गर्नेबारे अहिलेसम्म कुनै पनि सहमति नभएकोले सदन अवरोधलाई जारी राख्ने काँग्रेसले जनाएको हो।

सरकारले सदनको अवरोध खुलाउन प्रयास नगरेको निष्कर्ष उसले निकालेको छ। काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार सत्ता पक्षले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नतोकेर संसदीय समिति गठन गर्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको हो। काँग्रेस सहमहामन्त्री जीवन परियारले सत्ता पक्षसँग छलफल गरेपनि संसदीय छानबिन समिति गठनको विषयमा सहमति नभएको उनले बताए।

नेता महतले जो व्यक्तिमाथि छानबिन मागेको हो उसलाई जोगाउने गरी हुने छानबिनको अर्थ नहुने र काँग्रेसलाई स्वीकार्य पनि नहुने बताए। ‘सत्तापक्ष निर्लज्ज भएर प्रस्तुत भइरहेको छ, एउटा अमुक व्यक्तिलाई जोगाउने कुरा खुलेआम भन्दैछ,’ उनले भने, ‘कसैलाई जोगाउने कसैमाथि छानबिन गर्ने माग हाम्रो होइन।’

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै आग्रहमा सभामुख देवराज घिमिरेले अहिले ४ बजेसम्मका लागि सारेका थिए। काँग्रेससँग सहमतिका लागि समय उनले मागेका थिए। तर, अहिले ४ बजिसक्दा पनि संसद् बैठक सुरु हुन सकेको छैन भने काँग्रेससँग सहमति पनि भएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्