कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्छ : अध्यक्ष ओली

लोकपाटी न्यूज

वीरगञ्ज। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।

नेकपा (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवम् सदस्यहरुहरूको शपथग्रहण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छ भने। ‘जेठ १५ गतेभित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ। त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने छ। त्यसकारण संसद् चलाउनै पर्छ,’ अध्यक्ष ओलीले भने, ‘देश ठप्प पार्ने काम स्वीकार्य हुँदैन। नेपाली कांग्रेसले जेजे भन्छ त्यही मान्न सकिँदैन।’

उनले कुनै पनि व्यक्तिलाई आरोप लगाइसकेपछि संसद्मा बोल्न दिनुपर्नेमा जोड दिए। ‘कांग्रेसले एकजना मान्छेलाई आरोप लगाउँछ। ममाथि लगाएको आरोपका बारेमा संसद्मा बोल्छुभन्दा पनि बोल्न दिँदैन। बोल्न पाइँदैन, आयोग बनाउनुपर्छ भन्छ। आरोप लगाएपछि बोल्न त पाउनुपर्यो नि,’ अध्यक्ष ओलीले भने। त्यसैगरी उनले अब कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्ने बताए।

उनले संसद् विघटन गर्ने ठाउँमा पुर्याउन खोज्दैछन् भनेर आफूविरुद्ध कांग्रेसले हाउगुजी फैलाउने काम गरिरहेका प्रति कटाक्ष गरे। ‘कांग्रेसले संसद विघटनको हाउगुजी फैलाउने खालको झुट बोलेको छ। बेइमानी कुरा गरेको छ,’ उनले भने ‘त्यस्ता कुरा पत्याएर हिँड्ने होइन।’ त्यसअवसरमा एमाले पर्साका नवनिर्वाचित अध्यक्षसहित एक सय २७ जना पदाधिकारीले शपथग्रहण गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्