प्रहरी प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना समातिए

Arrest_Pakrau
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा एक जना नाबालकसहित ७ जना पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो। उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय लिँदै आएका थिए।

उनीहरूलाई काठमाडौं महानगरपालिका-१६ स्थित अष्टनारायण हलपछाडि र बाइसधाराको जंगलबाट भाग्न लागेको अवस्थामा हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा लुटपाट, महिलासँग विवादलगायत कारण प्रहरी घिमिरेको हत्या भएको पाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका-१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शंकास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तार्केश्वर-९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो। उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्