राष्ट्र निर्माणको साझा गन्तव्यलाई पुरा गर्न विश्वासको मत दिनुस् : प्रधानमन्त्री

PM_Prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र निर्माणको साझा गन्तव्यका लागि सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन्। विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभामा आज प्रधानमन्त्री प्रचण्डले सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिन काँग्रेससहितका प्रतिपक्ष दलहरूलाई आग्रह गरेका हुन्।

उनले भने, ‘प्रतिपक्षका साथीहरूलाई मेरो आग्रह छ, हामी सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले यही गन्तव्यका लागि सरकारलाई विश्वासको मत दिनोस्। त्यसले यो सम्मानित संसद् राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जानेछ। राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानित संसद्को निष्क्रिय होइन, सक्रिय विश्वासको मत चाहिएको छ। त्यो प्राप्त हुनेछ भन्ने मेरो विश्वास छ।’

प्रधानमन्त्री प्रचण्डले संसद्सँग केवल विश्वासको मत नभई देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोग मागिरहेको बताए। संघीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि आफू प्रतिबद्ध रहेको उनले बताए। निरपेक्ष गरिबीको रेखामुनि रहेको ठूलो संख्यालाई सम्मानपूर्ण जीवनसम्म लैजान आफूलाई संसद्को साथ चाहिएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘ म आज यो सार्वभौम संसद्सँग केवल विश्वासको मत माग्दिनँ, देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोग माग्छु। लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरुद्ध प्रयोग गर्ने प्रयासविरुद्ध संसद्को हस्तक्षेप माग्छु। संघीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि यहाँहरूको प्रतिवद्धता माग्छु। नागरिक राज्यसँग ठोकिने सबै बिन्दुमा शासकीय सुधारका लागि म कृतसंकल्पित छु, त्यसमा संसद्को सहयोग माग्छु, उद्यमशीलताका माध्यमबाट आर्थिक उन्नति र रोजगारीका लागि नीतिगत गाँठाहरू फुकाउन संसद्को हस्तक्षेप माग्छु। निरपेक्ष गरिबीको रेखामुनि रहेको ठूलो संख्यालाई सम्मानपूर्ण जीवनसम्म लैजान एकीकृत प्रयास माग्छु।’