काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। बैठक जेठ ९ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो।

संसदमा देखिएको गतिरोधसहितका समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेसले जनाएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको काँग्रेसले संघीय सदनमा निरन्तर अवरोध गर्दै आएको छ।

विपक्षी दलको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिएको प्रति काँग्रेसले आपत्ति जनाएको छ। काँग्रेसले यसलाई संसदीय मूल्य र मान्यता विपरीत भनेर टिप्पणी गरेको छ। साथै, सभामुख देवराज घिमिरेले पनि पार्टी कार्यकर्ताको भूमिका निभाएको आरोप काँग्रेसले लगाएको छ।

काँग्रेसले विपक्षी ५ दलसँग मिलेर सदन र सडकबाट सहकारी प्रकरणको विषयमा छानबिन समिति गठनमा दबाब बढाउने निर्णय संसदीय दलको बैठकबाट गरेको छ। आइतबार मात्रै गृहमन्त्री रवि लामिछानेले काँग्रेसका नेता विशेषलाई आरोपित गर्दै भ्रष्टाचार र अनियमितताको आरोप लगाएका छन्। यही विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको बुझिएको छ।