कि गगनलाई गिरफ्तार गर, नत्र गृहमन्त्रीलाई बर्खास्त गर : भीम रावल

Bhim_Rawal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एमालेका नेता डा. भीम रावलले राज्यका सूचना बेच्नु देश द्रोह भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत नेता रावलले देशका गोप्य सूचना विदेशीलाई बेच्ने व्यक्तिलाई गिरफ्तार गरी तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेस महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए। सोही सोही अभिव्यक्तिमा केन्द्रित रहेर पूर्वमन्त्रीसमेत रहेका नेता रावलले थापालाई कारबाही नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने समेत बताए।

‘राज्यका सूचना बेच्नु देश द्रोह हो। यसरी सूचना नेपाली काँग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन्।यस्तो देश द्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानुनी कारबाही गरियोस्,’ नेता रावलले लेखेका छन्, ‘यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रमं प्रचण्डले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ।’

गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी संसद्‍मा प्रस्तुत गरेको मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गर्न मागसमेत गरेका छन्। ‘गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसदमा प्रस्तुत गरेका छन्।ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस्। यस्ता आरोप झुटा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानुनी कारबाही होस्,’ उनले भनेका छन्, ‘राज्य कानुन र मर्यादामा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनताप्रति गद्दारी गरेको ठहर्छ।’