देशको सूचना बेचेको प्रमाणित गरे साथमा दिन्छौं, नत्र सदनबाट गलहत्त्याउँछौं : काँग्रेस

Badri_Pandya
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले देशको सूचना बेच्ने एजेण्ट भनेको व्यक्तिलाई चिनाएर प्रमाणित गर्न चुनौती दिएको छ। प्रतिनिधिसभाको बैठकमा मंगलबार काँग्रेस सांसद बद्रीप्रसाद पाण्डेले राष्ट्रिय सूचना बेचेको प्रमाणित गरे आफूहरू गृहमन्त्रीको साथमा रहने बताए।

अन्यथा निराधार आरोप लगाए गृहमन्त्रीलाई नै सदनबाट गलहत्त्याउन पछि नहट्ने उनले चेतावनी दिए। ‘राष्ट्रिय सूचना बेच्ने एजेन्ट यहि सदनमा छ भन्नुभएको छ। गृहमन्त्रीज्यू को हो त्यो एजेन्ट देखाउनुहोस्, उसलाई यो सदनबाट गलहत्त्याउन तपाईंको साथमा हामी लाग्नेछौं, होइन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने गृहमन्त्रीज्यू तपाईंलाई गलहत्त्याउन कामबाट हामी चुक्ने छैनौं,’ उनले भने। काँग्रेसले गृहमन्त्रीले संसद्‍मा लगाएको आरोप रेकर्डबाट हटाउनसमेत आग्रह गरे।

संसद्को रोस्टममा उभिएर उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने बर्बराएर लाखौं नागरिकलाई बराल्ने काम गरेका भन्दै सांसद पाण्डेले भने, ‘हामीले ठानेका थियौं, गृहमन्त्रीले हामीलाई राम्रो पढाउनुहोला। तर, उहाँ बोल्न उभिनुभएन रोस्टममा, बर्बराउन उभिनुभयो। लामो समय बर्बराउनुभयो। बर्बराउनु मात्रै भएन, लाखौं-करोडौं मानिसलाई उहाँले बराल्ने काम पनि गर्नुभयो।’