सहकारी पीडितहरूको घोषणा : देशैभर आन्दोलन चर्काउँछौं

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रा चरणको आन्दोलन घोषणा गरेको छ। रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनै पनि सम्झौता कार्यान्वयन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो।

महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए। जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु हुने उनले बताए। ‘११ गते ११ बजे माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं। र्‍याली गर्छौं। र्‍यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गर्छौं,’ उनले भने।

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्तरुपमा अगाडि बढ्ने उनले उद्घोष गरे। नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकै पटक सुरु हुने उनले बताए। सबै बचतकर्तालाई जेठ ११ गते ११ बजे माइतीघर मण्डलामा उपस्थित भएर आन्दोलनमा सहभागी हुन उनले आग्रह गरे। नेपाली काँग्रेसले बचतकर्ताको आवाज उठाएको बताउँदै उनले समग्र सहकारीको समस्या समाधान हुने गरी आवाज उठाइदिन आग्रह गरे।

आफूहरूले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता तथा सहमति पालना नभएको जिकिर गरे। उनले हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएको बताए। तर, अहिलेका मन्त्रीले पनि बचतकर्ताको पक्षमा कुनै काम नगरेको कारण संघर्षका कार्यक्रम घोषणा गर्नुपरेको उनले बताए। साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहकारी पीडितको पक्षमा गम्भीर बनिदिन आग्रह गरे।

‘हामीले योभन्दा अगाडि माननीय मन्त्री रञ्जिता श्रेष्ठ, अहिलेका मन्त्री बलराम अधिकारीसँग सम्झौता गर्यौं। तर, कसैले पनि हाम्रो माग पूरा गरेनन्। हाम्रो माग पूरा भएकै छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू हामीलाई न्याय चाहियो,’ उनले भने।

सहकारी पीडितहरूले न्याय नपाए आगामी ०८४ को निर्वाचन हुन नसक्ने उनको भनाइ छ। उनले न्याय नपाए देशभरका सहकारी पीडितहरूले चुनाव बहिस्कार गर्ने बताए। ‘तपाईंहरु मिसन ०८४ भन्नुस्। हामी मिसन ०८४ बहिस्कार गर्न अगाडि बढ्दैछौं। सहकारी पीडितको माग पूरा भएन भने ०८४ मा तपाईंहरुको लेभल पनि हाम्रो लेभलमा आउँछ। त्यतिखेर हामी देखाउँछौं जनताको तागत,’ उनले भने, ‘हामीहरूले घर-घरबाट तपाईंहरुलाई लखेट्छौं, सहकारी पीडितले न्याय पाएनन् भने ०८४ मा चुनाव हुँदैन।’

साथै, अध्यक्ष केसीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरिएको हो भने आफूहरूलाई सह्य नहुने चेतावनी दिए। ‘सहकारी पीडितको आवाज उठाएकै भरमा पक्राउ गरिएको हो भने हामी घोर भर्त्सना गर्छौं। तर, कसैलाई गल्ती गरेको हो भने छुटकारा पाउन हुँदैन,’ उनले भने।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका उपाध्यक्ष पुरुषोत्तम कार्की, कोषाध्यक्ष देवकुमार श्रेष्ठ वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठलगायतले सरकारले सहकारी पीडितको पक्षमा काम गर्न नसकेको बताए। उनीहरूले अब सशक्त आन्दोलनमा होमिनुको विकल्प नरहेको बताए। सबै सहकारी पीडितलाई उक्त आन्दोलनमा होमिन उनीहरूले आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्