गृहमन्त्री लामिछानेमाथि पासपोर्ट र नागरिकताका विषयमा छानबीन हुनुपर्छ : शेखर कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा छानबीन हुनुपर्ने माग गरेका छन्।

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सहकारी ठगी प्रकरणमात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा लामिछानेमाथि छानबिनको माग गरे। मन्त्री लामिछानले आफूले कुनै गल्ती नगरेको बताउने गरेको भन्दै कोइरालाले उनलाई त्यसो भए पद छोड्न आग्रह गरे। भने, ‘अर्को मन्त्रालय जानुस्, नेपाली कांग्रेसले राजीनामा पनि माग्दैन। प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुस्।’

गृहमन्त्री लामिछानेले आफ्नो ढाकछोप गरिरहेको उनको भनाइ थियो। ‘गृहमन्त्री भएकाले उहाँलाई सहकारी ठगीमा उन्मुक्ति दिने ?’, कोइरालाको प्रश्न छ। नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने चेतावनी दिए।