शिक्षकको दरबन्दी थप नगरी शिक्षामा सुधार ल्याउन कठिन : मुख्यमन्त्री कँडेल

Yamlal_Kadel
लोकपाटी न्यूज
0 Shares

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन तीन तहका सरकार लागिपर्नुपर्ने बताएका छन्। ‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल’ सुर्खेतको कार्यक्रममा आज उनले सामुदायिक शिक्षालाई सुधार गर्दै लैजानु पर्ने बताएका हुन्।

मुख्यमन्त्री कँडेलले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकको दरबन्दी थप गर्नुपर्ने बताए। उनले पुरानो दरबन्दीका शिक्षकले मात्र सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न नसकिने बताए। उनले सामुदायिक विद्यालयमा भएका शिक्षकको पुरानै दरबन्दीअनुसार अघि बढ्न नसकिने जिकिर गरे।

‘२०५१ सालको भन्दा अहिले अवस्था फरक छ, जनसङ्ख्या र विद्यालयको सङ्ख्या दुवै बढेका छन्,’ उनले भने, ‘आवश्यक दरबन्दी कायम गरेर सामुदायिक शिक्षालाई सुधार गर्दै लैजान आवश्यक छ। त्यसका लागि केन्द्रमै शिक्षा सुधार गर्न जरुरी छ।’ सीमित स्रोत साधनकै बीच कर्णालीको शिक्षालाई सुधार गर्नुपर्नेमा उनको जोड छ।