संसदीय समिति बनाउने सन्दर्भमा अब गृहमन्त्रीले नै नेतृत्व गर्नुपर्छ : राप्रपा

Gyanendra_Shahi
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनको निम्ति बाटो खुल्ला गर्न गृहमन्त्रीसँग आग्रह गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय छानबिन समिति बनाउने सन्दर्भमा गृहमन्त्रीले नेतृत्व गर्नुपर्ने बताएका हुन्।

उनले सहकारी पीडितहरूको अवस्थामा गम्भीर बनेकोतर्फ ध्यानाकर्षण गराउँदै सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन आवश्यक रहेको बताए। वर्तमान गृहमन्त्री रवि लामिछाने प्रतिपक्षमा रहँदा सहकारी ठगी प्रकरणमा छानबिन आवश्यक रहेको बताउने गरेको स्मरण गराउँदै शाहीले अहिले छानबिन समिति नै गठन नहुन दुःखद भएको टिप्पणी गरे।

उनले भने, ‘सहकारी पीडितहरू सडकमा छन्। नेपाली जनतालाई मार्न पाउने अधिकार कसैलाई छैन। मुटु छ कि छैन गृहमन्त्री ज्यू ? डराएको हो ? फिर्ता पठाएको हो ?’ उनले सदनमा सत्तापक्ष र प्रतिपक्षमा रहँदा फरक कुरा गर्न नहुने बताए। शाहीले संसद् संसद्जस्तो नभएको बताए।

प्रमुख सचेतक शाहीले जनताले पुराना दलले गरेनन् भनेर नयाँ शक्तिलाई मत दिए पनि अहिले नयाँ शक्तिले नाक देखाउने ठाउँ नरहेको बताए। उनले भनेका छन्, ‘नयाँ शक्तिले पनि नाक देखाउन ठाउँ रहेन। के फरक भयो ? इतिहास हेरौं त। के थियो हाम्रो पार्टी संगठन ? कुन ठाउँमा थियौं ? जनताले यी पुराना दलले गर्न सकेनन्। विकल्पको रूपमा जानपर्छ भनेका हुन्। तर, अहिले संसद् बाधक बनेको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्