कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन : मन्त्री चौधरी

bhagwati-chaudhari
लोकपाटी न्यूज
0 Shares

कञ्चनपुर। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गरेकी छन्। जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएकी हुन्। त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापना गर्ने बताएको थियो।

मन्त्री चौधरीलाई नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिका सभापति चुनामणि भट्टले ज्ञापन पत्र बुझाउँदै तत्काल धनगढीमा बालग्राम स्थापनाको आवश्यकता महसुस भएको र त्यसका लागि बजेट अभाव देखिएको बताएका थिए। नेपाल बाल सङ्गठनको ज्ञापन पत्र बुझ्दै मन्त्री चौधरीले समस्या समाधानको लागि आफ्नो पक्षबाट हुने सबै कामको लागि आफू तत्पर रहेको बताइन्। उनले बालग्राममा बसेका बालबालिकाहरूलाई विशेष ध्यान दिन पनि आग्रह गर्दै बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिइन्।

मन्त्री चौधरीले भनिन्, ‘मैले हिजो देखि यी विषय नियालिरहेको छु। तपाईँहरू पूर्ण बाल अधिकार सुनिश्चित गर्ने गरी लाग्नु होला सरकारको साथ तपाईँहरूलाई रहन्छ।’ बालकहरूको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पनि मन्त्री चौधरीले निर्देशन दिइन्। उनले अहिले पनि सडक बालबालिकाको विषयमा गम्भीर हुनु पर्ने अवस्था रहेको बताइन्। नेपाल बाल सङ्गठनको सुदूरपश्चिममा धेरै संरचना रहेको तर ती संरचनाको संरक्षण हुन नसेको विषयमा पनि आफूहरू गम्भीर रहेको उनको भनाइ थियो।

‘प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले पनि यो विषयमा चासो राख्नु भएको छ। ती सबै संरचना र सम्पत्तिहरू सरकारले संरक्षण गर्छ’, उनले भनिन्। ४० भन्दा धेरै जिल्लाहरूमा संरचना र सम्पत्ति रहेको भन्दै सबै संरक्षण गर्नु पर्ने अवस्था रहेको उनले बताइन्। स्थापना कालदेखि नै अनाथ तथा असहाय बालबालिकालाई हेरचाह गर्दै आएको धनगढी बाल संरक्षण गृहमा अहिले २० जना बालकहरू रहेका छन्। उनीहरू नजिकैको त्रिनगर विद्यालयमा अध्ययन गरिरहेको बताएका थिए।

त्यस अवसरमा अझै पनि अभिभावक विहीन धेरै बालकहरू सडकमा भौँतारिरहेको र सानैमा अभिभावक गुमाएकाहरूलाई शिक्षा स्वास्थ्य पाउन पनि सकस भएको भन्दै अझै धेरै क्षमताको बालगृह स्थापनाको लक्ष्य लिइएको भट्टले मन्त्री चौधरीलाई जानकारी गराएका थिए। ज्ञापन पत्रमा पनि प्रदेश स्तरीय बालगृह स्थापनाको लागि १० करोड रुपैयाँ माग गरिएको छ।

‘१ बिगाह ४ कट्ठा दर्ता जमिन र ८ कट्ठा ऐलानी जग्गा सदुपयोग भइरहेको छ। प्रदेश स्तरीय बालग्रामको रूपमा अगाडि बढाउन खोजिरहेका छौँ मन्त्री चौधरीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, प्रदेश स्तरीय बालग्राम निर्माणको लागि १० करोड विनियोजन गर्न आग्रह गर्दछौँ’, ज्ञापन पत्रमा भनिएको छ।

धनगढी उपमहानगरले सटर भत्काएको हुँदा आम्दानीको स्रोत समेत बन्द भएको गुनासो ज्ञापन पत्रमा उल्लेख गरिएको छ। नियमित आय स्रोतको लागि तत्काल व्यवसायीक भवन निर्माण गर्ने र त्यसको लागि २ करोड माग गरिएको छ। यसैगरी नेपाल बाल संगठन कञ्चनपुरको अनुगमन गर्दै मन्त्री चौधरीले बाल संगठनको सम्पत्तिको संरक्षण गर्न निर्देशन दिँदै विभिन्न व्यक्तिले अतिक्रमण गरेका २ बिगाहा जग्गा फिर्ता लिएर राज्यको सम्पत्तिको संरक्षण गरेकोप्रति धन्यवाद व्यक्त गरिन्। सबैले सरकारी सम्पत्तिको संरक्षण गर्न आवश्यक रहेको भन्दै उनले सडकमा कुनैपनि बालबालिका बेवारिसे अवस्थामा देखिन नहुने बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्