सदनमा टकराबको अवस्था देखा पर्नु दुःखद : नेकपा एस

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सदनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच टकराबको अवस्था देखा पर्नु दुःखद भएको भनेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर संसद्मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षण पत्र बुझाउँदै सदनमा नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रित हुनुपर्ने बेला टकराबको अवस्था देखा पर्नु दुःखद भएको भनेको हो।

ध्यानाकर्षण पत्रमा संसद्को गतिरोध अन्त्यका लागि छलफल र सार्थक संवादको माध्यमबाट प्रतिपक्षलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने, नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्नुपर्नेलगायत विषय उल्लेख छन्। ‘संसद् जनताका सबै प्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो। त्यसैले संसद्मा जारी अवरोध हटाउन प्रधानमन्त्रीले सार्थक संवाद तथा छलफलसहित विपक्षीलाई विश्वासमा लिएर अगाडि बढ्ने विश्वास हाम्रो पार्टीको विश्वास छ,’ पत्रमा भनिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेससहित अन्य प्रतिपक्षी दलसँग तत्काल सार्थक छलफल र वार्ताद्वारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउन आफूले पहल गरिरहेको र चाँडै संसद्का नियमित कामकारबाही अगाडि बढ्ने बताएको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

पार्टी अध्यक्ष नेपालले पनि संसद्को गतिरोध अन्त्य गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहलकदमीको अपेक्षा गर्दै पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई सम्पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पार्टी उपाध्यक्ष हमालले जानकारी दिए। कठिन खालका असहमति र द्वन्द्वसमेत वार्ता र सहमतिको आधारमा समाधान गर्न सकिन्छ भन्ने अनुभव रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले संवादबाट अघि बढ्नका लागि आफ्नो पार्टीको सहयोग हुने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्