शीर्ष दल र कार्यदलको बैठकमा भएन सहमति

sirsadal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आजै दिउँसो ३ बजे फेरि बस्ने गरी बैठक सकिएको हो।

बिहानको छलफल कुनै टुंगोमा नपुगेको नेताहरूले बताएका छन्। शीर्ष दल र कार्यदलको बैठकपछि काँग्रेस महामन्त्री जीवन परियारले समिति गठनमा सत्ता पक्षले दोहोरो चरित्र देखाउँदा कार्यादेशमा टुंगो लाग्न नसकेको बताए। ‘हामीले लगेको प्रस्ताव कहिले ठिक छ भन्ने कहिले ठिक छैन भन्ने। सत्तापक्ष समस्या समाधान गर्नुभन्दा समस्या अल्झाइरहने देखिन्छ,’ उनले भने, ‘यसमा नेपाली काँग्रेस सशङ्कित छ।’

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले सत्ता पक्ष र प्रतिपक्षीसँग छुट्टाछुट्टै छलफल गरेको बताउँदै महामन्त्री परियारले कार्यादेशमा टुंगो लगाउन प्रधानमन्त्री सकारात्मक रहेको बताए। ‘प्रधानमन्त्रीले सुरुमा धेरै कुरामा जानकारी नै छ। अलग-अलग छलफल गरौं भन्नुभयो। सत्ता पक्षीय दलसँग औपचारिक र अनौपचारिक रुपमा छलफल भयो। प्रधानमन्त्री सकारात्मक रुपमा लागिरहनु भएको छ। आज बेलुकासम्म टुंगाउनुपर्छ भन्नु भएको छ,’ उनले भने, ‘तर, सत्तापक्षबाट आएको प्रस्ताव हामीलाई मान्य छैन। सहकारी ठगीमा लामिछानेको नाम किटेर संसदीय छानबिन समिति बनाउनुपर्ने हाम्रो बटम लाइन यथावत् छ।’

बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी थिए। यस्तै, नेकपा (एमाले)का तर्फबाट कार्यदलका संयोजक समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, महेश बर्तौला सहभागी थिए। नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रधानमन्त्रीसहित अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे सहभागी थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियारलगायत नेताहरू बैठकमा सहभागी थिए।