काँग्रेसलाई संसदीय व्यवस्थाबारे सिकाउन खोज्नु अशोभनीय : नेता डा. कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस सत्ताभन्दा देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने विषयमा प्रष्ट रहेको बताएका छन्। राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले काँग्रेसले अहिले उठाएको मुद्दा पनि देशको मुद्दा भएको बताएका हुन्।

प्रमुख प्रतिपक्षी दल काँग्रेसले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै सदनमा अवरोध गरिरहेको छ। नेता डा. कोइरालाले सहकारीको रकम हिनामिना हुँदा सरकार गम्भीर नभएपछि काँग्रेसले आवाज उठाएको बताए।

‘काँग्रेसलाई सरकारमा जाने हतारो छैन। हामी सत्ताभन्दा देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने विषयमा स्पष्ट छौं। त्यही नीतिअनुसार सहकारीको रकम हिनामिना हुँदा सरकार गम्भीर नभएकाले आफ्नो आवाज राखिरहेका छौं,’ उनले भने। नेता डा. कोइरालाले संसदीय छानबिन समिति गठनको माग छिटो सम्बोधन गरेर संसद्को गतिरोध अन्त्य गर्न सरकारलाई आग्रह गरे।

तर, सत्तापक्ष संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता विपरीत अगाडि बढेको भन्दै उनले आक्रोश व्यक्त गरे। नेता डा. कोइरालाले प्रतिपक्षका कुरा नसुनेर अगाडि बढिरहेको सत्तापक्षले उल्टै काँग्रेसलाई संसदीय व्यवस्थाबारे सिकाउन खोज्नु शोभनीय नभएको बताए।

‘संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ। तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरा सुन्दै नसुनी अगाडि बढ्न खोजेको छ,’ उनले भने, ‘काँग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन पर्दैन। काँग्रेस आफ्नो अडानमा अडिग छ।’