संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

TOR_Karyadal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सहकारीको बचत अपचलनको विषयमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बसिरहेको छ। कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ।

बैठकमा कार्यदलका सदस्यहरूका साथै नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसमेत सहभागी छन्। कार्यदलले कार्यादेश टुंगो लगाएपछि आजै संसदीय छानबिन समिति गठन गर्ने तयारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकमा दलहरू संसदीय छानबिन समितिको मोडालिटीमा सहमतिको नजिक पुगेको बताइएको छ। सहमति हुन बाँकी रहेका काम आज बस्ने कार्यदलको बैठकले टुंग्याउने निर्णय भएको थियो।

दलहरू संसदीय समिति गठन गर्न सहमत भएपनि सो समितिको कार्यादेशमा सहमति जुट्न सकेको छैन। सोहीअनुरूपमा दलहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिन अहिले कार्यदलको बैठक बसेको हो। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको रकम अपचलनमा रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने संलग्न देखिएकोले उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्