भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणमा सरकारको जोड : अर्थमन्त्री

Barsaman_pun
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आवश्यकता र औचित्यका आधारमा करका दर परिवर्तन गरिएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा बुधाबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले करका दर परिवर्तनका गर्दा कुनै पनि व्यक्तिगत आग्रह, पूर्वाग्रह नराखिएको बताएका हुन्।

उनले भने, ‘कुनै पनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौं भन्ने प्रतिबद्धताका साथ करका दरमा हेरफेर भएका छन्।’ अर्थमन्त्री पुनले बजेटले आन्तरिक उत्पादन बढाउने नीति लिएको बताए। उनले बजेटमा कृषि, ऊर्जा, सूचना प्रविधिलगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अबको १० वर्षमा ३० खर्बको निर्यात पुर्‍याउने महत्त्वाकांक्षी योजना अघि सारेको र स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्ने नीति लिएको उनको भनाइ छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले नै तयारी र कच्चा पदार्थमा दुई तहको भन्सार लगाउने नीति लिइएको अर्थमन्त्री पुनले बताए। उनले नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको दाबी गरे।

उनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको पनि बताए। उनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गरे। ‘आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ। हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ,’ अर्थमन्त्री पुनले भने।