बजेटमा समावेश कार्यक्रमबाट राजश्व र रोजगारी वृद्धि हुने विश्वास छ : पूर्वगभर्नर क्षेत्री

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक वर्ष २०८१/०८२ का लागि आएको बजेट सन्तुलित रहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले बाहिर बजारमा हल्ला आएकोभन्दा कम आकारको बजेट आएको पनि बताए।

‘हामीलाई बजारमा के भनिएको थियो भने, यस पटकको बजेट साढे १९ खर्बभन्दा घटीको आउँदैन। प्रधानमन्त्रीले महत्वकांक्षी परियोजनाहरू ल्याउनु भएको छ भनिएको थियो। जस्तो, भरतपुरमा क्रिकेट मैदान आधुनिक बन्छ भनिएको थियो,’ उनले भने, ‘पहिले अध्ययन नगरिएको, प्रोजेक्ट बैंकिङअन्तर्गत नपरेका परियोजनाहरू पनि त्यसमा छिर्न थाले भने त सामान्य किसिमको बजेट तर्जुमाले त भ्याउँदैन होला भन्ने थियो। तर, बजेट आउँदाखेरि १८ खर्ब ६० अर्ब ३० करोड आयो। त्यो प्राज्ञिक रूपले अर्थतन्त्रको क्षेत्रमा काम गर्ने र विकास निर्माणमा चासो राख्नेहरूले बजेट त सन्तुलित नै देखियो भन्ने कुराहरू ल्याइराखेका छन्।’

साथै, ऋण सही ठाउँमा उपयोग हुनुपर्ने उनले बताए। सही ठाउँमा ऋण प्रयोग नभएको खण्डमा आगामी दिनमा अर्थतन्त्रमा असर देखिने उनको भनाइ छ। उनले बजेटमा आन्तरिक ऋणको अवस्था भने डरलाग्दो रहेको बताए। उनले आन्तरिक ऋणलाई सरकारले आयको स्रोतका रुपमा उपयोग गर्दाको असर निजी क्षेत्रको लगानीका देखिने बताए। अहिले बैंकिङ सेक्टरमा करिब ६ खर्ब लगानीयोग्य रकम रहेको तथ्यांक प्रस्तुत गर्दै उनले सरकारले आन्तरिक ऋणलाई पनि सही ढंगले परिचालन गर्न सक्नुपर्ने बताए।

‘ऋण लिएर त्यसलाई सदुपयोग नगर्ने हो भने डराउन पर्ने हुन्छ। आन्तरिक स्रोतबाट करिब २ खर्ब ५० अर्ब ऋण लिन्छौं भनिएको छ। त्यसको एउटा जोखिम के हुन्छ भने बैंकहरुमा भएको पैसाले नै त्यो ऋण लिने हो,’ उनले भने, ‘त्यो पैसा बैंकबाट सरकारले लिइदियो बैंकहरुले निजी क्षेत्रलाई कर्जा दिन नसक्ने परिस्थिति आउँछ कि भन्ने हो। तर, तत्कालका लागि ६ खर्बजस्तो बैंकिङ सेक्टरमा लगानी योग्य रकम छ भनिराखिएकाले सरकारले सस्तोमा ऋण प्राप्त गर्ने मौका लिएको हो कि भन्नेजस्तो पनि लाग्छ।’

साथै, रोजगारी अभिवृद्धिका केही नयाँ कार्यक्रमसमेत बजेटमा समावेश गरिएको भन्दै उनले प्रशंसा गरे। यस्ता प्रकारका कार्यक्रमले युवाहरूमा अनुभव प्रदान गर्ने र काम गर्नका निमित्त उनीहरूलाई तयार पार्ने उनको विश्वास छ। साथै, सरकारले अहिले औषधी प्रयोजनको निमित्त गाँजा खेतीका बारेमा पनि बजेट समावेश गर्नुलाई उनले सकारात्मक रुपमा लिए। त्यहाँबाट केही राजश्व र रोजगारी दुवै वृद्धि हुने उनको विश्वास छ। दुरुपयोग हुने कुरामा भने सरकार सचेत हुन आवश्यक रहेको उनले बताए।

साथै, स्थानीय मदिरा ब्राण्डिङ गर्ने कुरा पनि राम्रो पक्ष रहेको उनले बताए। उनले पर्यटक भित्र्याउने कुरामा पनि सरकारले विशेष ख्याल पुर्‍याउन पर्ने बताए। गाँजालाई विदेशीहरूले नार्कोटिक ड्रग्सको रुपमा परिभाषित गरेर प्रतिबन्ध लगाउन भनेको उनले स्मरण गराए। अरू देशहरूमा प्रतिबन्ध लगाएर तिनै देशहरूले भने गाँजाको व्यवस्थित खेती गरेकाले नेपाल सरकारले पनि यसको सुरुवात गर्नु राम्रो हुने उनको भनाइ छ।

उनले सरकारले नेपाल वायु सेवा निगमलाई अभिभावकीय भूमिका प्रदान गर्नुपर्ने र भ्रष्टाचारलाई निर्ममता पूर्वक कन्ट्रोल गर्नुपर्ने उनले बताए। त्यस्तै, नेपालमा बढीभन्दा बढी पर्यटकहरू भित्र्याएर अर्थतन्त्र चलायमान गराउन सकिने पनि उनले बताए। राजनीतिकस्थिरता कायम हुन सक्यो भने बजेटमा विगतका वर्षका जस्तो शंका गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्