बजेटका कमजोर पक्षलाई सुधार गरेर लैजानुपर्छ : महासचिव पोखरेल

Shankar_Pokhrel
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित भएको बताएका छन्।

उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज लतिलपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको बजेटमाथिको अन्तरसम्वाद कार्यक्रममा उनले बजेटका कमजोर पक्षलाई सुधार गरेर लैजानुपर्ने बताए।

महासचिव पोखरेलले आन्तरिक र बाह्य ऋणले पुँजीगत खर्च गर्न सके प्रतिफल प्राप्त हुने धारणा राखे। ‘आन्तरिक राजस्वबाट बजेट प्रणालीलाई सन्तुलन गर्न सकेनौं भने त्यसले घुमाएर उपभोक्तालाई असर पार्दछ। हामीले लिने आन्तरिक र बाह्य ऋणबाट पुँजीगत खर्च गर्न सक्यो भने त्यसका आधारमा प्रतिफल प्राप्त गर्न सक्दछौं,’ उनले भने।

महासचिव पोखरेलले बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्ने हो भने प्रतिफल प्राप्त गर्ने ठाउँ रहेको र निर्धारित लक्ष्यभन्दा बढी राजस्व प्राप्त गर्न सकिने धारणा व्यक्त गरे। मौद्रिक तरलताको विस्तारसँगै जनताका पैसा बैंकमा जम्मा भइरहेको तर लगानी हुन नसक्दा जनता मारमा परेको बताए।

‘बैंकमा जति पैसा जम्मा हुने गरेको छ त्यसको तुलनामा खर्च न्यून देखिएको छ। उपभोक्ताले जम्मा गरेको पैसा खर्च हुन नसकेपछि उपभोक्ताको ब्याजदरमा कटौती हुन्छ,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्