संघीय गणतन्त्रलाई बलियो बनाउने विषयमा प्रमुख दलहरूबीच कुराकानी भइरहेको छ : महामन्त्री थापा

लोकपाटी न्यूज
0 Shares

मोरङ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काँग्रेस प्रतिपक्षमा रहेकाले सोहीअनुसार भूमिका निर्वाह गर्ने र योबाहेक अन्य कुनै विकल्पमा नजाने प्रष्ट पारे। महामन्त्री थापाले नेकपा (एमाले) अथवा नेकपा माओवादीसँग मिलेर सरकार बनाउने कुनै प्रयास र छलफल नगर्ने बताए।

पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका नेतृत्वसँग शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानका कतिपय विषयमा पुनरावलोकन गरेर संघीय गणतन्त्रलाई बलियो बनाउने विषयमा कुराकानी गरिरहेको उनले जानकारी दिए। उनले सरकारले सत्ताको दुरुपयोग गरी नागरिक समाजका व्यक्ति र सञ्चारकर्मीहरूमाथि प्रश्न उठाउने कार्य अविलम्ब बन्द गर्नुपर्नेमा जोड दिए।

महामन्त्री थापाले काँग्रेस दलीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएको चर्चा गर्दै संसद्मा अन्य पार्टीहरूले काँग्रेसको नीति, नेता, निर्णयका विरोध एवं प्रश्न गर्न पाउने अधिकारको सम्मान गर्ने बताए। उनले असारको तेस्रो हप्ताभित्र पार्टीभित्र थाती रहेका भातृ एवं वर्गीय संगठनका महाधिवेशन गरी नेतृत्व समझदारीबाट टुङ्ग्याउने प्रयास भइरहेको जानकारी दिए।