काँग्रेस अब सरकार बनाउनेभन्दा पनि संगठन बनाउनतिर लाग्छ : महामन्त्री थापा

Gagan_Thapa
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस अब सरकार बनाउने वा गिराउनेभन्दा पनि संगठन निर्माणको काममा लाग्ने बताएका छन्। काँग्रेस कामपा- ३ वडा कार्यसमितिद्वारा आज यहाँ आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उनले अबको तीन वर्ष पार्टीलाई पुनः निर्माण र बलियो बनाउने समय भएको बताए।

उनले काँग्रेस विसं २०८४ सम्म सशक्त प्रतिपक्षमा बस्ने बताए। ‘काँग्रेसको सरकार बनाउने र गिराउने चाहाना छैन, काँग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन,’ महामन्त्री थापाले भने।

विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेको उनको भनाई छ। महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न काँग्रेसले पहलकदमी लिने बताए। उनले काँग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गरे।

महामन्त्री थापाले घरघरमा पुगेर पार्टी र आगामी कार्यदिशाका बारेमा छलफल गर्नुपर्ने बेला आएको बताए। उनले अब बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको प्रस्ताव पारित गरेर अगाडि बढ्ने उल्लेख गरे। आगामी बैठकले पार्टीका भ्रातृ संस्थाका बारेमा निर्णय लिने उनले जानकारी दिए।