प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बारेमा सांसदले उठाएका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण-२०८० आषाढ) पेस गर्ने कार्यक्रम छ।
यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने छन्।

अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ। राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ। विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूची छ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्