प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : ‘नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नुहोस्’

लोकपाटी न्यूज
0 Shares

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहालाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान रहेको बताउँदै उनले संविधान संशोधन आवश्यक भएको विचार व्यक्त गरे। सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन नेपाली कांग्रसले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको दोहोर्‍याउँदै मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेसहितको राष्ट्रिय सरकार गठन हुन लागेको बताए।

नेपालको राजनीतिमा प्रचण्डमा धेरै अस्थिरपन र विश्वासयोग्य चरित्र नहुँदा अहिलेको परिस्थित निर्माण भएको महामन्त्री थापाको भनाइ छ। उनले भने, ‘अहिले दुर्घटना प्रचण्डकै कारण निम्तिएको हो। यो कसैका कारण बनेको होइन, कसैले यसलाई भत्किएको होइन। नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थीर हुनुभयो कि उहाँसँग कसैको विश्वास रहेन र अहिलेको परिस्थित सृजना भएको हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्