एमालेले संसदलाई दियो सरकारको समर्थन फिर्ता लिएको जानकारी

Mahesh_Bartaula
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद्लाई दिएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे संसद्लाई जानकारी गराएका हुन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिएकोसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गराएको उनले जानकारी दिए। राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल थालिएकोले असार १९ बाट समर्थन फिर्ता लिएको एमालेले भनेको छ।

पत्रमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन १९ असार ०८१ मा फिर्ता गरिएको उल्लेख छ। पत्रमा बर्तौलाले सोको जानकारी प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा एमाले संसदमा प्रतिपक्षमा रहने जानकारी गराएका छन्।

काँग्रेससँग नयाँ सत्ता गठबन्धनको सहमति गरेसँगै एमालेका सबै आठ मन्त्रीले राजीनामा दिइसकेका छन्। उनीहरूको राजीनामा स्वीकृत भइसकेको छ। गत फागुनमा प्रचण्डले काँग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग गठबन्धन गरेपछि रघुवीर महासेठको नेतृत्वमा सरकारमा एमालेका आठ जना मन्त्री सहभागी थिए।