रुस-युक्रेन द्वन्द्व समाधानका लागि भारतद्वारा ‘शान्ति र कूटनीति’को वकालत

modi-pic
लोकपाटी न्यूज

एजेन्सी। रुससँगको भारतको सम्बन्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको ह्वाइट हाउसले मंगलबार जनाएको छ। युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा नभई वार्तामा निहित रहेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गरेका हुन्।

ह्वाइट हाउसका सञ्चार सचिव करिन जिन पियरेले भारतलाई अमेरिकाको ‘रणनीतिक साझेदार’ बताउँदै उनले युक्रेनमा स्थायी शान्ति कायम गर्ने प्रयासलाई भारतसहित सबै राष्ट्रले समर्थन गर्नु महत्त्वपूर्ण रहेको बताए। ‘रुससँगको भारतको लामो समयदेखि रहँदै आएको सम्बन्धले राष्ट्रपति पुटिनलाई युक्रेनमा युद्धको अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको छ,’ उनले भने।

‘हाम्रो आउँदो पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति सबैभन्दा महत्त्वपूर्ण छ भन्ने एक मित्रको रूपमा मैले सधैँ भन्ने गरेको छु। युद्धभूमिमा समाधान सम्भव छैन, अर्थात् बम, बन्दुक र गोलीको बिचमा समाधान र शान्ति वार्ता सफल हुँदैन। हामीले वार्ताको माध्यमबाट मात्र शान्तिको मार्ग अनुसरण गर्नुपर्नेछ,’ बैठकमा प्रधानमन्त्री मोदीले भनेका छन्।

सन् २०२२ मा मस्को र किएभबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री मोदीको यो पहिलो रुस भ्रमण हो। भारतले युक्रेन र रुसबीचको द्वन्द्व समाधानका लागि सधैँ ‘शान्ति र कूटनीति’ को वकालत गरेको छ। यसअघि मंगलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति निराशा व्यक्त गर्दै यसलाई ‘शान्ति प्रयासमा विनाशकारी प्रहार’ भनेका थिए।

प्रधानमन्त्री मोदी जुलाई ८ देखि ९ मा रुसको दुई दिने आधिकारिक भ्रमणमा रहेका थिए। आफ्नो भ्रमणको क्रममा उनले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय बैठक गरेका हुन्। प्रधानमन्त्री मोदीले मस्कोमा भारतीय समुदायलाई पनि सम्बोधन गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्