चितवन । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ यात्रु रहेको बताइएको छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्। उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्।
घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको उनले बताइन्। त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको उनले बताइन्। उनका अनुसार बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अज्ञात रहेको छ।
उद्धार कार्यका लागि नारायणगढबाट गोताखोर आउँदै गरेको उनले बताइन्। सो खण्ड अन्तर्गतको कालीखोलाको पहिरोमा गोताखोरहरु अड्किएका कारण उद्धार कार्य सुरु हुन नसकेको प्रहरी निरीक्षक भण्डारीले बताइन्।