काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेले समर्थन फिर्ता लिएकै भोलिपल्ट विश्वासको मत लिन आफू तयार भएको बताएका छन्। शुक्रबार संसदमा विश्वासको मत लिने प्रस्ताव राख्दै उनले यस्तो बताएका हुन्। तर प्राविधिक तयारीका लागि समय चाहिने भएकाले १० दिनभित्र विश्वासको मत लिने निर्णय गरेको उनले बताए।
नयाँ सरकार बनाउने सहमति गरेर पनि कांग्रेस र एमाले तर्सिएको उनले बताए। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवातिर संकेत गर्दै उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले मलाई नैतिकताको पाठ पढाइरहनु भयो ।’
‘ती साथीहरुलाई यति भन्न चाहन्छु, यो संविधानको माओवादी केन्द्रको सबभन्दा ठूलो लगानी छ । त्यसले यसलाई माओवादीले कमजोर बनाउँदैन, बनाउन दिने पनि छैन,’ प्रचण्डले भने ।