काठमाडौं। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणसँगै उनले दुई निर्णय गरे। उनले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने पहिलो निर्णय गरे । यस्तै, स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने उनले निर्णय गरे ।
एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने उनले बताए। मन्त्री पौडेलले एक साताभित्र तत्कालीन र एक महिनाभित्र दीर्घकालीन योजना तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरे।
स्वास्थ्यमन्त्री पौडेलले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह समेत गरे।‘बधाइ दिन आउनु हुने सम्पूर्ण प्रति मेरो सम्मान छ। यहाँहरुको सल्लाह सुझाव मैले विभिन्न रूपबाट लिने नै छु’, उनले भनेका छन्, ‘शुभकामना दिन आउनुहुने सबैमा माला, खादा, उपहार जस्ता चिजहरु नल्याइदिनु हुन अनुरोध गर्दछु । स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक थप सहयोग सल्लाह र सुझावको अपेक्षा गर्दछु।’