दर्शनका सैद्धान्तिक मान्यतामा पूर्वीय अवधारणा

लोकपाटी न्यूज
0 Shares

मानव जीवनका कयौं समस्या सहजरूपमा समाधान गर्न र सामाजिक सेवाप्रति समर्पित हुन दर्शनले प्रेरित गर्दछ। मानव जीवन के हो ? किन जीवन ? केका लागि जीवन ? यी अनुत्तरित प्रश्नका उत्तरको कुनै पनि अंश दर्शनका विषय वस्तु हुन्। दर्शन मानवीय अनुभूतिको निचोड हो। मानवीय अनुभूतिको प्रथम आधार प्रकृति हो। अतः मानिससँग सबैभन्दा अभिन्न रूपले जोडिएको पक्ष प्रकृति हो। किनकि प्रकृति नै मानिसको जननी हो। प्रकृति विभिन्न तत्त्वहरूको पद्धति हो। त्यही तत्त्वहरूको पद्धतिमा हुने निरन्तर संघर्षको उपजबाटै मानिसको उत्पत्ति भएको हो।

मानिसले प्रकृतिका तत्त्व र ती तत्त्वका पद्धतिकै आधारमा आफूलाई काबिल बनाउँदै आजको सभ्यता रच्न पुगेको हो। आजसम्म यो अवस्थामा आइपुग्नेक्रममा मानिसले जे देख्यो, जे भोग्यो र जे अनुभूत गर्‍यो, तिनीहरूको विश्वव्यापी सार तत्त्वको रूपमा जे पायो, त्यो मानव जीवनको दर्शन बन्यो। त्यो नै मानव जीवन पद्धतिको आधार बन्यो।

प्रकृति निर्विकल्प निराकार तत्त्वहरूको एकता र संघर्षको प्रतिबिम्ब हो। जसलाई हामी परिणामका आधारमा अनुभूत गर्दछौ र देख्दछौं। त्यसकारण प्रकृतिसँग कुनै उद्देश्य हुँदैन। मात्र, पद्धतिमा आबद्ध भएर आफ्नो काम गरिनै रहेको हुन्छ, निरन्तर.. निरन्तर। प्रकृतिको पद्धतिमा कुनै पक्षले बाधा व्यवधान ननिम्त्याएसम्म त्यसमा कुनै परिवर्तन हुँदैन। तर, मानिसमा त्यो नियम लागू हुँदैन।

मानिसले त प्रकृतिलाई जति चिन्न, जान्न र बुझ्न सक्यो, त्यति नै उपलब्धि हासिल गर्दै, यो अवस्थामा आइपुग्यो। किनकि, मानिसले त दिमागको विकास गरेको छ। प्रकृतिको दर्शन केवल पद्धतिको आधारमा बुझ्न र व्याख्या गर्न सकिन्छ भने मानिसको दर्शन पद्धतिका बहुआयामिक धाराहरू, तिनीहरूले सिर्जना र विकास गरेका विभिन्न रूप, पक्ष, विषय, दिशा वा गतिका आधारमा बुझ्न सकिन्छ। यसले केवल मानव जीवनको सार्थकताको खोजी गर्दछ।

दर्शनको आधार

वास्तवमा मानव जीवनको सार्थकता के हो ? यो प्रश्नले दर्शनमा महत्त्व पाएको पाइन्छ। जीवन सुख र भोगको लागि मात्र हो भने सुख के हो ? भोग के हो ? न सुखको सीमा छ न भोगको! केवल सुखभोगको लागि मात्र हैन, त्यसको मानवीय महत्त्व सम्झाउन सक्ने मानिस महामानव बन्दछ। यसका लागि उसले स्व-कल्याण देखि विश्व-कल्याण सम्मका बारेमा ज्ञान प्राप्त गर्नु पर्दछ। यी ज्ञान प्राप्त गर्ने आधार भनेको दर्शन हो।

मानिस खुसी, दुखी र जिज्ञासु स्वभावले सजिएको प्राणी हो। मानिसभित्र अचेतन मनदेखि नै वस्तु तथा घटनाले पारेको प्रभावबाट उत्पन्न स्वभाव र विशेषताका आधारमा उभित्रको आँखा खुल्न पुग्दछ। मानिसले बाँच्नका लागि गरेका संघर्षका सन्दर्भमा भोगेका र भित्री आँखाले देखेका कुराको सार संग्रह दर्शन हो। दर्शनले हजारौं हजार वर्षका व्यवहारिक भोगाइबाट प्राप्त ज्ञानलाई संग्रहित गर्दछ। दर्शन प्रयोग-परीक्षणको निरन्तरताबाट प्राप्त ज्ञानको संग्रह पनि हो। दर्शनको आधारमा दृष्टिकोण दृष्टिकोणको आधारमा विचार र विचारको आधारमा सिद्धान्त जन्मिएको हुन्छ।

दर्शनको मान्यता

दर्शन भनेको कुनै साधनको माध्यमद्वारा देख्नु हो। जस्तो कि, शास्त्रको माध्यमबाट केही देख्न सकिने छ भने त्यो दर्शन भयो। जिज्ञासाको सही समाधान खोज्नका लागि गरिने निरीक्षण वा काम नै दर्शन हो। शास्त्र एकै युगको योगदान हुँदैन। किताब र शास्त्रमा फरक छ। यसले दर्शनको काम गर्दछ, त्यसैले शास्त्र दर्शन हो। शास्त्रले एउटा दृष्टिकोण बोकेको हुन्छ। दर्शन दृश्य वा दृष्टिकोणको विशिष्ट स्वरूपको प्रतिबिम्ब हो। जसलाई अनुभूतिद्वारा दर्साइन्छ र चिन्तनद्वारा सजाइन्छ। विकिपिडिया लेख्दछ साधारणतः दर्शन भन्नाले कुनै व्यक्ति वा विशेष समूहको विचार, सोच र मनसितका भन्ने बुझिन्छ।

व्यवहारद्वारा आत्मसाथ गरी, विभिन्न साहित्य विधाद्वारा विकास र विस्तार गरिएको विश्वव्यापी महत्त्व दिने ज्ञान राशिले भरिएको ग्रन्थ, दर्शनशास्त्र हो। कतिपयको विश्वास छ कि, दर्शनद्वारा परम सत्य स्वरूपको अनुभूत गर्न सकिन्छ। क्षितिज छिचल्न सक्ने शक्ति पैदा गरी लक्ष्य पुग्ने मार्ग देखाउन सक्ने वस्तु बोधाबाट प्राप्त ज्ञानको अनुभूति नै दर्शन हो। दर्शन देख्न, सोच्न र लेख्नसमेत सघाउने वा मद्दत गर्ने ज्ञान हो। दर्शन ‘शस्’ धातुले बनेको शास्त्रको बोध हो। जसले वस्तुलाई सच्चा अर्थमा बोध गराउने प्रयास गरेको हुन्छ।

दर्शनको विकास र मानव सभ्यता

दर्शनको विकास मानव सभ्यताको विकासको अवस्थाअनुरूप भएको पाउँछौं। अर्थात्, मानव सभ्यता जहाँ जहाँबाट प्रारम्भ भएर यसले युगको प्रतिनिधित्व गर्‍यो, त्यहाँ त्यहीको माटोको दर्शन जन्मन पुग्यो। यसरी हेर्दा मुख्यरूपमा दुई दिशाबाट उदाएको दर्शनलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ। एउटा हो, पाश्चात्य दर्शन र अर्को हो, पूर्वीय दर्शन। दर्शन शब्दसँग सभ्ययता गाँसिने, सभ्यतासँग समाज गाँसिने र समाजसँग संस्कृति गाँसिने हुँदा संस्कृतिको आधारमा दर्शनको विकास भएको पाइन्छ। यसमा हामी पूर्वीय दर्शनका केही प्रारम्भिक पक्षबारे छलफल गर्ने छौं।

पूर्वीय दर्शनमा सूक्ष्म नेत्रलाई दिव्यचक्षु भनिन्छ। साथै दर्शनलाई ज्ञानचक्षु वा प्रज्ञाचक्षु पनि भनिन्छ। देखाउने साधन आँखा हो। देखिने कुरा वस्तु वा घटना (व्यवहार) हो। त्यसबाट निस्कने निचोड ज्ञान हो। त्यस्तो ज्ञानको संग्रह भएको शास्त्र नै दर्शन हो। अतः दर्शन शास्त्रलाई प्रत्यक्ष ज्ञानको अनुभूतिको रूपमा लिएको पाइन्छ। इन्द्रियद्वारा प्राप्त भएका ज्ञान नै प्रत्यक्षदर्शी ज्ञान हुन्। वेदलाई पूर्वीय दर्शनमा प्रत्यक्ष ज्ञान भएको दर्शन मानिन्छ। दर्शनमा स्थूल वा सूक्ष्म यी दुवै तत्त्वहरूको स्वरूपबारे चर्चा परिचर्चा गरिएको हुन्छ।

दर्शन के हो ?

अङ्ग्रेजी Phliosophy ले दर्शनलाई ज्ञान र प्रेमको प्रतीक पनि मान्दछ। दर्शन केवल जिज्ञासाको खोज हो। हरेक मानिसको आफ्नै दर्शन हुन्छ। उसले त्यसलाई पहिचान गर्न सकोस्, नसकोस्। दर्शन मानिसको जीवनसँग जोडिएको हुन्छ। हामीले चाहेर पनि दर्शनलाई जीवनबाट अलग गर्न सक्दैनौं। कसैले यसलाई अलग गर्न कोसिस गर्‍यो भने पनि उसको जीवन, बुद्धिजीवी भन्ने प्राणीको जीवन नभई पशुतुल्य जीवन बन्न पुग्दछ।

मानिस र पशुका धरै कुरा समानान्तर हुन्छ। खाने, चपाउने, पचाउने फाल्ने, सन्तान उत्पादन गर्ने, सन्तान जन्मनासाथ स्तनपान गराउने वा चाहरा खोज्न हिँड्ने, हुर्केर आफै आफ्नो खुट्टामा उभिन नसकुन्जेलसम्म आफैले स्याहार सम्भार गर्ने, आहारा, निद्रा, भोक, थकाई, रिस जस्ता धेरै कुराहरूमा समानता पाइन्छ। फरक यत्ति हो कि, ती कुरा ऊसँग कति बेरसम्म रहन्छन्। उसले कसरी सोचविचार गरेर आफ्ना काम गर्दछ भन्ने कुराहरू मात्र फरक हुन्।

पूर्वीय दर्शनलाई दर्शनको रेखा कोर्ने पहिला दार्शनिक वा इतिहास विद् कर्णाद नै हुन्। उनको वैशेषिक सूत्रमा बुद्ध पूर्वकालीन रचना भएको मानिन्छ। डा. बदरीनाथको शब्दकोशको परिभाषाअनुसार (दृश्य+ल्यूट+अन)= दर्शन भनेर उल्लेख छ। दर्शन एउटा यस्तो चिन्तन प्रणाली हो, जसमा सत्ता र प्रकृतिको प्रयोजनमा परम सत्ताको अंश, अस्थित्व र अवस्थाको बारेमा अध्ययन गरिन्छ।

दर्शन संदृष्य धातुबाट बनेको हुन्छ जसको मूल अर्थ देखाइदिने वा देखाउने हो। जीवन व्यवहारको रूपमा हामी त्यस्तो ज्ञान वा बोधको प्रवक्ता हो, जुन आँखाले देखेपछि प्राप्त हुनेछ। आत्मा, परात्मा, सृष्टिका पदार्थ र त्यसका रचनाका सम्बन्धमा हुने गहन विचार विमर्श र सोबाट प्राप्त नतिजा नै दर्शनको पक्षधरता हो। यसले कुनै विशिष्ट र महत्त्वपूर्ण तत्त्वको वास्तविकता, त्यसको प्रकृति र स्वरूप बुझ्ने, बुझाउने प्रयास गरिन्छ।

पूर्वीय दर्शनका किसिम

वैदिक कालदेखिनै दर्शनको बारेमा छलफल र बहस हुन थालेको थियो। सृष्टिको मूल कारण के हो ? यसको स्वतन्त्र किन भयो ? के कारणले भयो ? यसमा कस्ता कस्ता तत्त्वहरू छन् ? ती के कति र कसरी रहेका छन् ? भन्ने जस्ता विविध पाटा र पक्षहरू र घटनासमेत समेटेर लेखिएका महत्त्वपूर्ण ग्रन्थहरू पूर्वीय दर्शनका आधार बनेका छन्। जसमा साख्य, योग, वैशेषिक, न्याय, मीमांसा र वेदान्त गरी ६ किसिमका छन्।

सांख्य : यसले सृष्टिको उत्पत्ति र विकासका बारेमा विचार राखेको पाउँछौं। सृष्टि र उत्पत्तिको कारण ईश्वर नभई प्रकृतिलाई मानेको छ।

योग : यसले ईश्वर र परात्माको सत्ता स्वीकारेको छ। आत्मालाई परब्रह्म लिन गराउने उपाय र विधि बताएको छ।

वैशेषिक : द्रव्य र पदार्थको गुणको बारेमा उल्लेख गरिएको छ। सृष्टिको उत्पत्ति परमाणुको योगबाट भएको स्विकारिएको छ।

मीमांसा : यसमा वैदिक कर्मकाण्डको बारेमा उल्लेख गरिएको छ।

वेदान्त : यसले बम्ह्लाई यस सृष्टिको सोपान मानेको छ। सबै कुरा ब्रम्ह्को अंश र सन्तान स्वरूप स्वीकारेको छ।

आस्तिक र नास्तिक

यसअलावा पूर्वीय दर्शनमा चार्वाक, जैन, बुद्ध, पाशुपात्य, शैव जस्ता विभिन्न आस्तिक तथा नास्तिक दर्शनहरू रचना गरिए। दर्शनमा आउने आस्तिक र नास्तिक शब्द के हुन् ? यसबारे प्रस्ट नभएसम्म पूर्वीय दर्शनको पिँधमा पुग्न सकिँदैन। शाब्दिक अर्थ लगाउँदा कुनै अदृश्य शक्तिप्रति आस गर्ने, नास्तिक भनेको अदृश्य शक्ति एउटा प्रकृतिको पद्धतिको अंशको रूपमा रहेकोले यसबाट थप कुनै आस गर्न नसक्ने भन्ने नै हो।

अब हामी यो भन्न सक्छौं कि, दर्शन विज्ञानको त्यो शाखा हो, जसबाट मानिसले सम्भावित घटनालाई देख्न सक्दछ। ज्ञान वा बोध नै सबै तत्त्व वा घटनाको मूल हो। जो आत्मा, परात्मा, प्रकृति, सृष्टि र विश्वसँग सम्बन्धित हुन्छ। अर्थात्, आफ्ना ज्ञान, बुद्धि, विवेक लगाएर तत्त्वहरूको भौतिक नियमको खोजबाट मानिसले जे परिणाम प्राप्त गर्‍यो, त्यसको श्रृङ्खलावद्ध सार संग्रहको रूपमा देखा परेका ग्रन्थहरू नै दर्शन शास्त्र बन्न पुगे। त्यही दर्शनशास्त्र नै दर्शनको आधार बन्न पुग्यो। यस्ता दर्शनहरू कतिपय अलिखित तर जीवन व्यवहारमा जीवन्त रहन पनि पुग्यो।

पाश्चात्य दर्शन र प्रकृति

ज्ञान भन्ने कुरा तथ्यको जानकारी मात्र हैन। यो त, विश्व र मानव जीवनको गहन प्रश्नका सम्बन्धमा दिएको स्वीकारोक्ति पनि हो। दर्शन बौद्धिक खोज अनुसन्धानको विषय मात्र हैन, यसमा मानिसका अनुरागका पक्ष र भावनाहरू पनि जोडिएको हुन्छ।

पाश्चात्य साहित्यको क्षेत्रमा जब विचारले बाह्य जगत् अर्थात् प्रकृतिको नियमलाई चिन्न र बुझ्न प्रयत्न गर्‍यो, उनीहरूको जगतको विविधता र विविधता बिचमा नै एकताका सुन्दर फुलहरू सजिएको पाए।

सुकरातले त आत्मज्ञान नै दर्शनको एक मात्र उद्देश्य रहेको बताए। विभिन्न कालखण्ड पार गर्दै कहिले तत्वमीमांसा, कहिले ज्ञान मीमांसा, कहिले तर्कशास्त्र त कहिले नैतिक सामाजिक बन्धन साथै कलात्मक जीवनको विवेचना नै दर्शन केन्द्रीय भागको रूपमा देखा पर्दै इतिहासलाई निर्देशन र नेतृत्व गर्दै आयो। विक्रमको पाँचौं शताब्दी पहिले ग्रीकका दार्शनिक हिरोडरसले दर्शन शब्दको प्रयोग गरेको मानिन्छ। पेरेक्जिको व्याख्यामा एथेन्सवासीलाई विद्यानुरागी (दार्शनिक) उपमा प्रदान गरेको भेटिन्छ।

शुकरातले पनि आफू ज्ञान प्राप्तिका लागि प्रयत्नशील रहेको बताए। सुकरातका चेला प्लेटोले यसको प्रचार गरे। जसमा अरस्तु पनि थपिए। यिनीहरू पाश्चात्य दर्शनका प्रचारकको रूपमा देखा परे। धेरै पुस्तकहरू यिनीहरूले लेखेका छन्।

दर्शनको अध्ययन

जीवन, जगत्, ईश्वर, धार्मिक क्रिया, सामाजिक तत्त्वहरूको छानबिन गर्न प्रयत्नशील विद्वानहरू नै दार्शनिक हुन्। दर्शन शब्दले पहिले विज्ञानलाई पनि बुझाउँदथ्यो। पाश्चात्य दर्शनले आज यस कुरालाई छुटाएको पाइन्छ। यस जगतको विभिन्न विषयका विभिन्न विशिष्ट कुराहरूको अध्ययन तथा अनुसन्धानलाई विज्ञान भनिन्छ। जसमा भौतिक विज्ञान, रसायन विज्ञान ज्योतिष शास्त्र आदि जस्ता विभिन्न विशिष्ट ज्ञान प्राप्त स्वरूपको एकीकृत रूप नै दर्शन हो। यी पक्षका सम्बन्धमा विशिष्ट रूपको अध्ययन गर्दा विज्ञानबाट र सामान्य रूपको अध्ययन गर्ने काम दर्शनबाट गरिन्छ।

दर्शनमा सूक्ष्म दर्शन पनि रहेको हुन्छ, त्यसलाई तत्त्वको बोध भनिन्छ। तात्त्विक दृष्टिबाट मात्र तत्वबोध प्राप्त हुन्छ, जसलाई प्रज्ञाचच्छु पनि भनिन्छ। यस मतअनुसार ज्ञान प्राप्त गर्ने आधार नै दर्शन भन्ने गरिएको पाइन्छ। दर्शनको व्यापक अर्थ आँखाबाट देख्नु नै हो। सूक्ष्म दृष्टि सामान्य वस्तु र घटनाबाट घटनाभित्र छिपेको रहस्य बारेमा जान्नु र बोध गर्नुलाई दर्शनको चिन्तन भनिन्छ। सूक्ष्म दृष्टि- अन्तर्दृष्टि र तार्किक परीक्षण पनि समावेश हुन्छ। शुक्ल यजुर्वेदमा दर्शनलाई आत्मज्ञान, तत्त्व ज्ञान, परात्माको ज्ञानको प्रवक्ताको रूपमा स्वीकारेको छ।

अन्तमा,
सच्चा दर्शन वस्तुगत जगतको मौलिक खोज हो। दर्शनको लक्ष्य केवल भौतिक महत्त्व दिने मात्र नभई अन्य पाटा र पक्षहरू पनि त्यति नै महत्त्व हुन्छ। जस्तो कि, भौतिक समृद्धिले मानिस-मानिस सुखी बन्न सक्दैन। यसको मानवीय पक्ष र पाटाहरू पनि त्यति नै आवश्यक पर्दछन्। मन शान्त नभएसम्म मानिसले प्राप्त भौतिक सुख सुविधालाई सहज ग्रहण गर्न सक्दैन। आदर्शबाट शासित दर्शनले वस्तु, व्यक्ति, जगत्, र मानवीय सुख शान्ति र समृद्धिको बारेमा पनि गहन अध्ययन गरेको हुन्छ। आस्तु…।

(लेखक : कट्टेल मार्क्सवादी ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्