काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आगामी वैशाखमा गर्नुपर्ने सुझाव पेस भएको छ। दुई दिनसम्म चलेको पार्टीको कार्यशालाले विभिन्न १५ वटा सुझाव दिएको छ। त्यसमा महाधिवेशनबारे पनि सुझाव आएको रास्वपाले जनाएको छ।
आगामी असोज राष्ट्रिय भेला गर्ने र आगामी वैशाखमा गर्नुपर्ने सुझाव आएको रास्वपाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। पार्टीको विधान संशोधनका लागि मस्यौदा आगामी भदौमा तयार पारी राष्ट्रिय भेलामा पेस गर्ने, जिल्ला संयोजक, उपसंयोजकलाई समावेश गरी जिल्ला तदर्थ समिति गठन गर्नेसमेत सुझाव आएको छ।
यस्तै चरणबद्ध रुपमा स्थानीय छाया सरकार गठनको अभ्यास थालनी गर्नुपर्ने पनि बन्द कार्यशालाको सुझाव छ। रास्वपाले आगामी साता सातै प्रदेशमा पनि बन्द कार्यशाला आयोजना गर्ने र केन्द्रीय तहका नेताहरूलाई सहजीकरणका लागि परिचालन गर्ने निर्णय पनि गरेको छ।