संविधान संशोधन गरेर प्रतिगमन ल्याइँदै भनेर भ्रम फैलाइयो : प्रधानमन्त्री

KP_Oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली काँग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रगमनका लागि संविधान संशोधन गराउने बताएका छन्।

नेकपा (एमाले) मा हालै मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरूको शपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भएको जनाउँदै मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्ताबेज भएको बताएका हुन्।

‘लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो,’ उनले भने, ‘संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन। हामीले कुलै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौं। मानव केन्द्रित मुद्दालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौं।’

प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनताका लागि हुनुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम र जबाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए। उनले वैचारिक र साङ्गठनिकरुपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको स्पष्ट गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्