काठमाडौं। मंगलबार र बुधबार (भोलि र पर्सि) नेपालमा मनसुन सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यसबाट ३ दर्जन जिल्ला अति प्रभावित हुने भन्दै ‘रेड अलर्ट’ जारी गरेको छ।
मङ्गलबार र बुधबार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ। साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ।
महाशाखाले मधेश र कर्णालीबाहेक पाँच प्रदेशका ३४ जिल्लामा रेडअलर्ट जारी गरेको छ। महाशाखाले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोर्खा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाची, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडीमा धेरै वर्षा हुने र यसले बाढीपहिरोको जोखिम निम्ताउन सक्ने भएकाले रेडअलर्ट जारी गरेको हो।