सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्छ : सांसद सापकोटा

Madhav_Sapkota
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले यो देशमा ‘अटोक्रेसी’ चलाउन खोजी रहेको आशंका व्यक्त गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले सरकारले विद्यमान नियम विपरीत नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनको बर्खास्तीलाई बर्खास्त गरेको उल्लेख गर्दै उक्त आशंका व्यक्त गरेका हुन्।

उनले समितिका सदस्यद्वयको बर्खास्तीको भर्त्सना पनि गरे। डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल बक्यौता उठाउन यसअघिका संसदीय समितिले निर्देशन दिइसकेकोमा त्यसलाई कार्यान्वयन गराउनुको साटो उल्ट्याउन लागिपरेकोमा उनले आपत्ति जनाए। सांसद सापकोटाले सो समितिका सभापति ऋषिकेश पोखरेलले अनुचित ढंगले डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम नतिरेका व्यापारीहरूसँग रहस्यमय ढंगले भेट गरेको जिकिर गरे।

‘संसदीय समितिहरू भनेको सरकारका स्वार्थ बाझिएका निर्णयउपर निगरानी गर्ने, संसदीय रूपमा खबरदारी गर्ने र आवश्यक पर्दा निर्देशन दिने स्पष्ट कार्यक्षेत्र छ। तर, बडो विडम्बनाको कुरा सार्वजनिक लेखा समितिका सभापतिले यस्तो स्पष्ट निर्णय हुँदाहुँदै सबै निर्णयलाई लत्त्याएर अनावश्यक रूपमा यी निर्णय उल्ट्याउने उद्देश्यका साथ जे छलफल गरिराख्नुभएको छ, यो अनैतिक र घोर आपत्तिजनक छ,’ सांसद सापकोटाले भने।

सभापति पोखरेलले अघिल्लो सार्वजनिक लेखा समितिले सो बक्यौता रकम असुली गर्नका लागि दिएको निर्देशन विपरीत लागेकाले उनीमाथि कारबाही हुनुपर्ने उनको भनाइ थियो। सांसद सापकोटाले सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई दिन आग्रह पनि गरे। ‘यो सरकार नैतिक हो, पारदर्शी काम गर्छ भने सार्वजनिक लेखा समितिको सभापति तत्काल विपक्षलाई दिइयोस्,’ उनले भने।