दुई ठूला दलको सत्ता साझेदारीले सकारात्मक सन्देश प्रवाह भयो : उपप्रम सिंह

PrakashMan_Sighn
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा सकारात्मक सन्देश प्रवाह गर्न देशका दुई ठूला दलले सत्ता साझेदारी गरेका बताएका छन्। सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग उनले जनतामा निराशा बढ्दै गएका बेला दुई ठूला दलबीचको सत्ता साझेदारीले सकारात्मक सन्देश प्रवाह भएको बताएका हुन्।

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढंगले काम गर्ने उद्देश्यले गठन भएको बताए। उनले भने, ‘सरकारको राजनीतिक सन्देश जनजीविकाका सवालमा प्रभावकारी काम गर्नुपर्छ भन्ने छ।’

फरक प्रसंगमा उनले सहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने उल्लेख गरे।