काठमाडौं। बंगलादेशकी विपक्षी दल बीएनपीकी नेतृ एवं पुर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई औपचारिक रुपमा रिहा गरिएको छ। बंगलादेशको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खालिदा जियालाई हिरासतबाट रिहा गरिएको जानकारी दिएको ढाका ट्रीबुनले उल्लेख गरेको छ।
बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले सोमबार एक आदेश जारी गर्दै बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी) की नेता खालिदा जिया मंगलबार रिहा भएको त्यहाँस्थित चर्चित अनलाइन डेलीस्टारले लेखेको छ। डेलीस्टारका अनुसार खालिदा जियासहित सयौँ विपक्षी नेता मंगलबार नै जेलबाट मुक्त भएका छन्।
करिब २ महिनादेखि चलेको विद्यार्थीको विरोध प्रदर्शनबीच नाटकीय घटनाक्रममा प्रधानमन्त्री शेख हसिनाको तख्तपलट भएर देशबाट भागेकी थिइन्। अहिले बंगलादेशमा सेनाले सत्ता सम्हालेको छ। देशभरमा अराजकता र हिंसाबीच राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएका थिए।
राष्ट्रपतिको तर्फबाट जारी विज्ञप्ति अनुसार अन्तरिम सरकार गठनका लागि राष्ट्रपति मोहम्मद सहाबुद्दिन, थल सेनाध्यक्ष, नौसेना र वायु सेनाका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्यको बैठक बंगभवनमा गरिएको थियो।
बैठकमा सर्वसम्मतिले बीएनपी अध्यक्ष बेगम खालिदा जियालाई तुरून्त रिहा गर्ने निर्णय लिइएको थियो। यसका अलावा, भेदभाव विरोधी आन्दोलन र हालै मात्र विभिन्न मामिलामा हिरासतमा लिएका सबै कैदीलाई रिहा गर्ने निर्णय भएको थियो । बैठकले सर्वसाधारणलाई कुनै पनि प्रकारको सरकारी सम्पत्ति तोडफोड र आगजनी नगर्न पनि भनेको थियो।