चितवन। चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ। सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै भेलबाढीले दुई वटा बस बगाएको निष्कर्ष निकालेको हो।
प्रतिवेदनमा भनिएको छ,‘सडक बनाउँदा कट एण्ड फिल एप्रोचमा काम नगरेर कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक निस्केको माटो छेउमा फ्याँकिएको र टेवा पर्खाल नहुँदा डेब्रिज सिन्दुरे खोल्सा हुँदै बगेको देखिन्छ।’
दुर्घटनास्थल माथिको भिरालो पहाडी क्षेत्रमा उचित इन्जिनियरिङबिना नै सिमलताल-बांगेसाल-डुम्रेगाउँ जाने बाटो हालै खनिएको र सडक खन्दा निस्किएको माटो जथाभावी फाल्दा त्यसले भेलबाढी उत्पन्न गराएको कार्यदलको निष्कर्ष छ। यसका अतिरिक्त दुर्घटनास्थल आसपासको भूगोल दुवैतर्फको भिरालो जमिन भएको औंल्याइएको छ।
जोखिमपूर्ण सडक भएपनि ठुलो वर्षा भइरहेको बेला ‘सेफ्टी फस्ट’ भन्ने मूल कुरामा ध्यान नदिँदा दुर्घटना भएको अध्ययन निष्कर्ष छ। गत असार २८ गते काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं जाँदै गरेका दुई वटा बस सिमलतालमा बगेका थिए। भेलबाढीमा परेर त्रिशूलीमा खसेका बस हालसम्म बेपत्ता छन्। बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले ज्यान जोगाएका थिए। हराइरहेका ६२ यात्रुमध्ये २४ जनाको शव फेला परेको छ। त्यसमध्ये १९ जनाको सनाखत भएको छ।