काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गरेकी छन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकांक्षाका रुपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रसंघको सहयोगको अपेक्षा व्यक्त गरेका छन्। नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि मुलुकका दुई ठुला दलको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी गराउँदै उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा टुङ्ग्याउने तयारी भएको जनाउँदै यस्ता सवालमा राष्ट्रसंघको सदैव सहयोगको अपेक्षा व्यक्त गरे।
आवासीय प्रतिनिधि सिङ्गरले नेपालका विकास र समृद्धिका प्राथमिकताका क्षेत्रमा राष्ट्रसंघको निरन्तर साथ रहने विश्वास दिलाइन्। राष्ट्रसंघले नेपालको गरिबी निवारण, ऊर्जा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण र अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ भने नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि राष्ट्रसंघीय नीतिबमोजिम शान्ति सेनामार्फत योगदान गर्दै आएको छ।