काठमाडौं। काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) सामान कायम राख्न सरकारले सूचित गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्री-वितरण भएको जानकारी आएको जनाएको छ।
खासगरी होटलरेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन्। विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ। एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ।
यी मूल्यभन्दा फरक पर्ने गरी होटलररेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई सचेत गराएको हो। एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ।