काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले कमाएको नाफाको ग्राफमा शंका नगर्न आग्रह गरेका छन्। विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।
उनले प्राधिकरण विद्युत् विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको बताए। ‘प्राधिकरणले कमाएको नाफा ग्राफमा देखिने कोरा अंकमात्र होइन, यो त विद्युत् विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको छ। जसले भविष्यको थप नाफालाई पनि सुनिश्चित गर्नेछ,’ घिसिङले भने।
आफ्नो पुँजीको तत्कालका लागि १० प्रतिशत सेयर आम सर्वसाधारणलाई निष्कासन गरी संकलन गरिएको रकम ठूला जलविद्युत् आयोजनाहरूमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढिसकेको उनले बताए। विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको पनि उनले जनाए।
निर्देशक घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सबै विवरण प्राधिकरणसँग रहेको पनि बताए। उनले भने, ‘म २०७३ साल भदौमा आएको हुँ। यो लागु भएको २०७२ साल साउनदेखि हो। त्यसपछि प्राधिकरणले सम्पूर्ण डेडिकेटेड र ट्रंक लाइनको व्यवस्थित गरेर बिलिङ गरेका छौं। आगामी दिनमा उद्योगी साथीहरूले तिर्नुहुन्छ भन्ने विश्वास लिएको छु।’