सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान

Sudurpaschim_pradesh_sabha
लोकपाटी न्यूज

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपराह्न २ बजे प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गरेका छन्। प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम प्रदेश प्रमुखले आज प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीबार राजश्व संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीबार नै प्रमाणीकरण भइसकेको छ।

अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/८२को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर संकलन सम्बन्धी काम अगाडि बढेको छ। बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर संकलन लगायतको काम ठप्प भएको थियो।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो। सरकारले अध्यादेश जारी गरी कर संकलनको वातावरण बनाए पनि बजेट शून्यताको अवस्था भने अझैँ अन्त्य भएको छैन।

मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारबाही अघि बढाउने तयारी गरेका छन्। त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेसका १८,नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र)का सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्