काठमाडौं। गृहमन्त्री रमेश लेखकले द्वन्द्वकालमा भएका बलात्कार घटनाका दोषीलाई सजायमा कुनै छुट नहुने बताएका छन्। गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जाल नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितको सहभागिता’ विषयक कार्यक्रममा बलात्कार घटनाका दोषीलाई सजाय कम गर्दा समाजमा राम्रो सन्देश नजाने बताए।
उनले संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा योभन्दा राम्रो गर्न नसकिने भन्दै टीआरसी विधेयक पीडितमैत्री भएको बताए। उनले यो कानुन कार्यान्वयनमा निकै ठुलो चुनौती रहेको पनि बताए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्न बनेको कार्यदलका सदस्य जनार्दन शर्माले यो कानुन राष्ट्रिय सहमतिमा टुङ्गिनु ऐतिहासिक रहेको बताए।