कास्की। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।
पोखरास्थित हुलाक निर्देशनालयको निरीक्षणपछि मन्त्री गुरुङले हुलाकसम्बन्धी पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताएका हुन्।
हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेकै बेला यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताए। दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधैँसचेत हुनुपर्नेमा उनले जोड दिए।
‘पुरानो ढर्राबाट अब हुलाक सेवा चल्ने वाला छैन, तत्कालै परिवर्तन गर्न सकिने अवस्था पनि छैन, बिस्तारै हुलाक सेवालाई प्रविधिमैत्री बनाउने छु,’ मन्त्री गुरुङले भने, ‘हुलाक सेवालाई समयसापेक्ष बनाउन कर्मचारी पनि प्रविधिमैत्री सिक्न जरुरी छ।’