इजरालले नेपालबाट छोटो प्रक्रियामा केयरगिभर लैजाँदै

shram-bivag
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। इजरायलले नेपालबाट सहायक कामदार (केयरगिभर)  लाई छोटो प्रक्रिया अपनाएर लैजाने भएको छ। इजरायलले उक्त छनौट प्रक्रियालाई जति सकिन्छ छोटो बनाउन खोजेको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागको इजरायल÷जापान शाखाका निर्देशक गिरिराज ज्ञवालीले इजरायलले छोटो प्रक्रियाबाट छनोट गर्न खोजेको बताए। विभागले आवश्यक कागजात परीक्षण गरेर तीन हजार ४६१ जनाको सूची इजरायलस्थित पीबालाई पठाएको थियो।

उक्त सूचीमा रहेका नाममा पीबाले नेमचेक गर्ने र त्यसपछि सूची विभागलाई पठाउनेछ। विभागले त्यसका लागि साउन २१ गते नै उक्त सूचीका लागि विवरण पठाएको थियो। पीबाले नेमचेक पछिको सूची विभागलाई पठाउने र विभागले पछि लक्की ड्रका लागि पठाउनेछ।

लक्की ड्र मार्फत पीबाले एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार छनोट गर्नेछ। पीबाले लक्की ड्र मार्फत पठाएकाहरूको सूचीलाई नै विभागले अन्तिम मानेर स्वास्थ्य परीक्षणका लागि पठाउने। त्यही सूचीलाई इजरायलीस्थित रोजगारदाता समक्ष पेस गरिनेछ। रोजगारदाताले कामदार छनौट गरेपछि उनीहरूले नै भिसा शुल्क तिरिदिनेछन्। त्यसपछि दूतावासमा गएर भिसा लगाउने र इजरायल जानका लागि उडान तालिका तय गर्ने कार्यतालिका रहेको उनको भनाइ छ।

यो सबै प्रक्रिया पुरा गरेर सेप्टेम्बरको अन्तिमसम्ममा कामदार लैजाने चाहना इजरायलको रहेको उनको भनाइ छ। यसअघि अघिल्लो पटक भने उचाइ तथा तौल परीक्षणसँगै लिखित परीक्षा तथा अन्तर्वार्ता समेत गरिएको थियो। यो पटक भने उचाइ तथा तौल परीक्षण स्वास्थ्य परीक्षणकै समयमा हुने ज्ञवालीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्