कास्की। कास्कीमा लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका-६ लेकसाईडबाट धारिलो हतियार देखाई एक महिलाको सुनको सिक्री र नगद लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१८ का देवन गुरुङ, सोही ठाउँका आजित रूचाल भन्ने हितमान सार्की, तनहुँ ब्यास नगरपालिका-३ का १८ वर्षीय किशोर, पोखरा महानगरपालिका-४ गणेशटोलस्थित विकास सुनचाँदी पसलका सञ्चालक नारायण प्रसाद विक र एसपी मान्मा ज्वलेर्सका सञ्चालक प्रशान्त मान्मा रहेका छन्।
पोखराको लेकसाईडस्थित बाटोमा हिँडिरहेकी २० वर्षीया महिलाको आइतबार २ तोला बराबरको सुनको सिक्री, नगद १२ हजार रुपैयाँ र ज्याकेट लुटपाट भएको थियो। स्कुटर र मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले चक्कु देखाई डर त्रासमा पारी ती महिलाको साथबाट उक्त सामाग्री लुटी फरार भएका थिए।
लुटपाटको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले घटनामा संलग्न आजित, हितमान र १८ वर्षीय किशोरलाई सिक्री बेचेर आएको नगद १ लाख ३ हजार ५ सय रुपैयाँ, घटनामा प्रयोग भएको ग. ८ प ६९२४ नम्बरको स्कुटर र ग.११ प ९८२७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको थियो।
साथै थप अनुसन्धानको क्रममा नारायण प्रसाद र प्रशान्तले सुनको सिक्री खरिद गरेको खुल्न आएपछि उनीहरूलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।