रास्वपाले ०८४ मा काँग्रेस-एमालेलाई बढारेर भुईँमा झारिदिए हुन्छ : गगन थापा

gagan_thapa
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले ती समुदायका अधिकारलाई संस्थागत गर्दै संघीयतालाई अझ सुदृढ र समृद्ध बनाउनुपर्ने बताएका हुन्।

संघीयता, गणतन्त्र, समानुपातिक निर्वाचन प्रणालीलाई अझ समावेशी बनाउनुपर्नेमा जोड दिँदै महामन्त्री थापाले पछाडि फर्किने छुट कसैलाई नभएको बताए। संविधानमा लेखिएका कुराहरू जुनै सरकार आए पनि कार्यान्वयन नगरेको भन्दै उनले असन्तुष्टि राखे।

‘हामी संविधानमा लेखिए पनि सरकारमा महिला र दलितलाई छुटाउँछौं। दुई दल मिलेर राष्ट्रपति र उपराष्ट्रपति पनि पुरुष बनाउँछौं। स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौं,’ उनले भने, ‘प्रदेशका सरकार यसैगरी चलाउने हो भने कसरी हामी सफल हुन्छौं ? संघीयतालाई यो भन्दा राम्रो बनाउने हो। त्यसैले हामीले अब सुधार्नै पर्छ।’

महामन्त्री थापाले निर्वाचन प्रणाली फेर्न छलफल गरिरहेको बताएका छन्। ‘तल्लो हाउसलाई प्रत्यक्ष निर्वाचित गरिदिने र माथिल्लो हाउसलाई समानुपातिक बनाउने कुरा मिल्दैन,’ उनले भने, ‘अहिले साथीहरू ठूला दलले कुरा मात्रै गर्छन् भन्छन्। ०६४ सालमा माओवादी पनि ठूलो दल थियो। सानो ठूलो भन्ने कोही पनि हुँदैन। अहिले ठूला दललाई प्रश्न गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले ०८४ मा काँग्रेस र एमालेलाई बढारेर भुईँतिर राखेर सरकार हाँके हुन्छ।’