कामको आधारमा सरकारको प्रशंसा र आलोचना हुन्छ : महामन्त्री थापा

Gagan_Thapa
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार गठन भएका बेला गरिएका सहमतिका आधारमा जनचाहनाअनुसार सरकारले काम गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले अनियमिततासम्बन्धी सबै फाइल खोलेर दोषीमाथि छानबिन हुनुपर्ने माग गरेका हुन्।

भूटानी शरणार्थी र सहकारी ठगीमा मुछिएकालाई कारबाही गर्नुपर्ने माग गर्दै महामन्त्री थापाले असल काम गरेमा सरकारको प्रशंसा र गलत गरेमा आलोचना हुने बताए। भुटानी शरणार्थी, गिरीबन्धु, डेडिकेटड टंक लाइनमा ढाकछोप गर्न दुई दल रातारात मिले भनेर आरोप लागेको भन्दै उनले उक्त विषयमा सरकारले आफ्नो कामबाट प्रष्ट बनाउनुपर्ने बताए।

‘यता बस्दै गर्दा गिरीबन्धु देख्दै नदेख्ने, डेडिकेटेड र ट्रंक लाइन नदेख्ने, सहकारी ठग्ने, उता बसेपछि सबै देख्ने होइन। उता बस्दा पनि त्यही हो, यता बस्दा पनि त्यही हो,’ उनले अगाडि भने, ‘गिरीबन्धुको पनि जे हो, त्यही हुनुपर्छ, भुटानीको पनि जे हो, त्यही हुनुपर्छ, सहकारीमा ठगलाई पनि अनुसन्धान गर्नै पर्छ।’

डेडिकेटेड र टंक लाइनमा पनि संसदीय समितिको निर्णय, अदालतको आदेश, लाल आयोगका प्रतिवेदनहरूका आधारमा अगाडि बढ्नुपर्ने महामन्त्री थापाले बताए। उनले अगाडि भने, ‘सरकारले यहाँ आएर भन्नुपर्छ, कसैले बिजुली प्रयोग गरेको छैन भने अन्याय हुन दिँदैनौं। तर जतिसुकै शक्तिशाली होस्, अनुचित लाभ पनि लिन दिन्नौं भनेर विश्वास दिलाउनुपर्छ।’

भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भनेर भन्नेभन्दा पनि कानुन निर्माण, सुशासनका काममा केन्द्रित हुन प्रधानमन्त्रीलाई महामन्त्री थापाले सुझाव दिए। उनले सहकारी, मल र दूधको समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारसँग माग गरे।