काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले युवा पलायन रोक्न सरकारले आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउन जरूरी रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा उनले पढे लेखेका र बाध्यताले रोजगारीका लागि खाडी मुलुक जाने युवालाई रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्नेमा जोड दिए।
‘युवालाई नेपालमै कसरी आकर्षित बनाउने भन्नेबारे सरकारले आवश्यक कार्ययोजना बनाउन जरूरी छ,’ नेता कोइरालाले भने, ‘नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्नुपर्छ। युवा पलायन रोक्न राज्यले उनीहरूलाई कसरी ‘इन्गेज’ गराउने हो त्यसतर्फ ध्यान दिइनुपर्छ। स्वदेशमै अवसरको खोजी गर्ने जिम्मेवारी अभिभावको पनि हो।’
प्रतिनिधिसभा सदस्य डा कोइरालाले व्यावहारिक र वैज्ञानिक शिक्षा पद्धतिको अवलम्बन गर्दै स्वरोजगार र उद्यमशीलताको विकासका लागि युवालाई प्रोत्साहित गरिनुपर्ने खाँचो औँल्याए। देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी युवाको काँधमा रहेकाले युवाले पनि उद्यमशील मानसिकतासहित स्वदेशमै केही गर्ने सोच निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
नेता डा कोइरालाले ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारसँग जोडिएर आएका प्रश्नलाई सरकार र राजनीतिक दलले गम्भीरताका साथ लिनुपर्ने बताए। वर्तमान सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारी सिर्जनाका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।