काठमाडौं। सरकारी लगानीको दूरसञ्चार कम्पनीको रूपमा रहेको नेपाल टेलिकम लगातार घाटामा गएको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय र खुद मुनाफा दुवैमा भारी गिरावट आएको हो।
यो वर्ष टेलिकमको कुल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६.३२ प्रतिशतले कम हो। यस वर्षको आम्दानी गत आर्थिक वर्ष २०७९/८० को तुलनामा २ अर्ब ८० करोड ६५ लाख रूपैयाँ कमी भएको छ। गत आर्थिक वर्षमा टेलिकमले ४४ अर्व ४२ करोड ३६ लाख १८ हजार कुम आम्दानी गरेको थियो।
आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको सञ्चालन आय समेट घटेको छ। आर्थिक २०७९/९० को तुलनामा यस आवमा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रूपैयाँले कमी भएको हो। गत आवमा ३६ अर्व २७ करोड कुल सञ्चालन आय रहेकोमा यस वर्ष ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको छ।
आयसँगै टेलिकमको खुद मुनाफा समेत ह्रास आएको छ। आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा आउँदा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजारमा सिमित भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा कर अघिको मुनाफा ११ अर्व ३७ करोड ९८ लाख ४ हजार रहेको छ। यो रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ करोड २७ लाख ५७ हजारले कमी हो। उक्त वर्षमा टेलिकमको कर अघिको मुनाफा ११ अर्ब ८४ करोड २५ लाख ६२ हजार रूपैयाँ रहेको थियो। यस्तै नेपाल टेलिकम प्रति शेयर आम्दानी ३६.७७ रूपैयाँ रहेको छ।